images

पानी पार्ने प्रणाली पूर्वसम्म पुग्यो, धेरै ठाउँमा वर्षा र हिमपात

काठमाण्डौ । शुक्रबार बेलुकी पश्चिमबाट प्रवेश गरेको पानी पार्ने प्रणाली पूर्वसम्म पुगेको छ । पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभावले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका थोरै ठाउँहरूमा गएरातिदेखि पानी परिरहेको छ । सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरूमा हल्का हिमपात पनि भइरहेको छ ।

आज सुदूरपश्चिम प्रदेशका धेरै ठाउँहरूका साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही ठाउँहरूमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै ठाउँहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकामा पनि हल्का पानी पर्ने सम्भावना छ । यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँहरू तथा गण्डकी प्रदेश र बाग्मती प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । भोलि दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । पानी पर्न रोकिएपछि चिसो झनै बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।