images

नबिल बैङ्क लुट्ने लुटेराहरू भारतको विहारबाट पक्राउ

वीरगन्ज– वीरगन्जको नबिल बैङ्कको बाइपास शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार चोरी भएको घटनामा संलग्न रहेको समूह मध्ये दुई भारतीयसहित चार जना पक्राउ परेका छन् ।यस्तै बैङ्कबाट चोरी भएकोमध्ये केही रकम पनि फेला परेको छ । चोरीमा संलग्न रहेको आशङ्कामा पर्सा प्रहरीले रौतहटबाट दुई जना नेपालीलाई पक्राउ गरेको छ भने भारतको बिहार पुलिसले घोडासहनबाट पनि दुई जनालाई नियन्त्रणमा लिएको छ।

हालसम्म पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ७ पथरा बुधरामका सञ्जय जयसवाल र छोटेलाल जयसवाल रहेका छन् । त्यस्तै भारतीय प्रहरीले बिहारको पूर्वी चम्पारण जिल्लाको घोडासहनका मन्टु जैशवाल र ललन कुमारलाई नियन्त्रणमा लिएको हो । बिहार पुलिसका अनुसार वीरगन्जमा रहेको नबिल बैङ्कमा लुटपाटपछि ती व्यक्तिले उक्त रकमबाट मोटरसाइकल, सुनको औँठीलगायत अन्य धेरै सामान खरिद गरेको एसपी कन्तेश मिश्रले जानकारी दिए ।

लुटिएको रकम यहाँ ल्याएर लुकाएर राखेको पनि बरामद भएको छ । यस आपराधिक सङ्गठनले विगतमा पनि नेपालका एक व्यापारीको ४० लाख लुटपाटको घटना गराएको थियो भने विगतमा घोडा सहनमा भएको चोरीको घटनामा पनि आफ्नो संलग्नता स्वीकार गरेको थियो ।

बिहारमा पक्राउ परेकाहरु सँग नेपाली नगद रु १८ लाख २३ हजार स्वदेशी कट्टा १ थान र सोको गोली २ थान बरामद भएको बिहार पुलिसका मोतीहरि जिल्ला प्रहरी प्रमुख कन्तेश मिश्रले बताए ।

सञ्जय र छोटेलाललाई प्रहरीले रौतहटको मौलापुरबाट मङ्गलवार साँझ पक्राउ गरेको हो ।उनीहरू दुवै जना रात्रीबसमा चढेर काठमाडौं जाँदै गरेका बेला प्रहरीले बस घेरा हालेर नियन्त्रणमा लिएको हो ।ती दुवै जना अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

बैङ्कमा चोरी गर्नुभन्दा पहिले चोरहरूको समूहले गत आइतबार वीरगन्जको नयाँ बसपार्कस्थित रानीपोखरी होटेलमा छोटेलाल जयसवालको नाममा कोठा बुक गरेर बसेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ । बाइपास रोडमा रहेको नबिल बैङ्कको शाखाबाट गत आइतबार राति पाँच जनाको सङ्ख्यामा रहेका चोरहरूको समूहले मूल गेटको ताल्चा फोडेर भित्र प्रवेश गरी टिनको बाक्सामा रहेको १ सय र २० रुपैयाँको नोट गरी १ करोड ३४ लाख ६५ हजार रुपैयाँ बोरामा हालेर लगेको बैङ्कको सिसिटिभीको फुटेजमा देखिएको थियो ।