images

प्रदेश १ को नाम ‘कोशी’ राख्न एमाले, कांग्रेस र माओवादी केन्द्र सहमत

काठमाडौं । प्रदेश एकको संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । नेकपा एमाले, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत भएको छ । सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश हुन लागेको हो ।

पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरणको विषयको टुंगो लगाउने प्रयास गरेको छ ।

नेपालको संविधानमा प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाइ मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जना सांसद छन् । जसमध्ये नामकरणको टुंगो लगाउन दुई तिहाइ ६३ जना सांसद चाहिन्छ । प्रदेश सभामा प्रदेश नामाकरणको विषय प्रवेश गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यसअघि नामबारे जातीय पहिचानका आधारमा राख्ने कि नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित थिए । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् । प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामाकरण हुन सकेको थिएन ।