images

प्लास्टिकका फूलका माला नीतिमा मात्रै प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती

पोखरा । नेपाल सरकारले ०७९ साउन १२ गते राजपत्रमै सूचना प्रकाशन गर्दै प्लास्टिकजन्य फूलगुच्छाको बिक्री वितरणमा रोक लगाएको थियोे । सोही सूचनाअनुसार कात्तिक १ गतेदेखि आयातित सयपत्री मालामा पनि प्रतिबन्ध गरेको छ ।

सोही सूचनाका आधारमा पोखरा महानगरले पनि कात्तिक १६ गते एक सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला र आयातित सयपत्री फूलगुच्छा प्रतिबन्ध गरेको छ । तर, सरकारले आयातित प्लास्टिकजन्य फूलमाला प्रतिबन्ध गरे पनि बजारमा भने छ्यापछ्याप्ती पाइन्छन् ।

महानगरले अघिल्लो वर्ष पनि प्लास्टिकका फूलमाला पूर्ण निषेध गर्ने निर्णय सूचना जारी गरेको थियो । पटकपटक सूचना जारी गर्दा पनि व्यापारीले अटेरी गरेपछि तिहारलगायत चाडबाडलाई लक्ष्य गरी पोखरा महानगर सोमबार अनुगमनमा निस्कियो । अनुगमनका क्रममा बजारभरि प्रतिबन्धित फूलमाला छ्याप्छयाप्ती भेटिएका छन् ।

महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजकसमेत रहेकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा सोमबार पोखराका १२ वटा पसलमा अनुगमन गरिएको थियो । जसमा ७ वटा पसल कारबाहीको दायरा आएका छन् ।

उपप्रमुख गुरुङले अनुगमनका क्रममा ७ वटा पसललाई ४० हजार रुपैयाँ जरिवाना गरिएको जाानकारी दिइन् । उनका अनुसार ७ वटा पसलबाट १ लाख ९ हजार हजार रुपैयााँ बराबरको मालासमेत जफत गरिएको छ ।

अनुुगमनका क्रममा पोखरा वडा ९ मा रहेको जयमा पूजा सामग्री भण्डारबाट १० हजार जरिवाना र ९० हजार बराबरको प्लास्टिकको फूलमाला जफत, पोखरा महानगर ३ को माता मनकामना पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना र ७ हजार बराबरको फूलका माला जफत गरिएको महानगरले जनाएको छ ।

पोखरा महानगर ३ कै किरण ट्रेड लिंकलाई ५ हजार जरिवाना र ८ हजार ५ सय बराबरको माला जफत, महेन्द्रपुलमा रहेको सुधा साहुुको पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना र ३ हजार मूल्य बराबरको माला जफत गरिएको छ ।

अनुगमनकै क्रममा पोखरा ३ को खाल्सा गिफ्ट हाउसलाई ५ हजार जरिवाना र ६ सय ५० रुपैयाँ मूल्य बराबरको माला जफत, नमोः शिवाय पूजा सामग्री भण्डारलाई ५ हजार जरिवाना गरिएको महानगरले जनाएको छ । अन्य ५ पसलहरुलाई सचेत गराइएको थियोे ।

प्लास्टिकजन्य फूलमाला बिक्री वितरणमा रोक लगाउँदा स्थानीय फूलले बजार पाउने र यसले वातावरणमा पार्ने नकरात्मक प्रभावलाई कम गर्ने सरकारको विश्वास छ ।