images

ए डिभिजन लिगमा सातदोबाटोको विजयी सुरुवात

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासल खेल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ । सातदोबाटोले न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै नयाँ सिजनको लिग फुटबलमा विजयी सुरुआत गरेको हो ।

च्यासल रंगशालामा आइतबार भएको खेलमा सातदोबाटोले न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्यो ।

सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।

यस जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।