images

केही सांसदहरु प्रोपागाण्डा बनाउन र सामाजिक सञ्जालमा छाउनकै लागि उटपट्याङ कुरा बोल्छन् : सांसद राणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य उदयशम्शेर जङ्गबहादुर राणाले संसदमा पूर्वप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, पूर्वसभामुखलगायतले असीमित समयसम्म बोल्ने पाउने पद्धतिमा परिमार्जन गर्ने बेला आएको बताएका छन् ।

उनले संसदमा कुनै मुद्दा उठेपछि सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नै पर्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गरे। संसदको लामो प्रक्रियाका कारण कतिपय अवस्थामा दिक्क पनि लाग्छ तर त्यही प्रक्रिया र वृहत छलफलका कारण पारित भएका विधेयक दिगो हुने उनको तर्क छ । यसलाई दुबै दृष्टिकोणले हेर्न सकिने उनले बताए । सांसद राणाले भने, “यसको अर्थ मैले संसदीय प्रक्रिया ‘सर्टकट’ बनाउनुपर्छ भन्न खाजेको होइन तर यसबारेमा सोच्नुपर्ने बेला आएको छ ।”

उनले साना मुद्दामा पनि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दा संसदले अपेक्षाअनुसार काम गर्न नसकेको बताए । “विपक्षी पनि धेरै भए । केही दल र संसद अपरिपक्व रुपमा प्रस्तुत हुँदा पनि सदन अवरोध हुने गरेको छ”, उनले भने । सरकारले पर्याप्त विजनेश दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उनको बुझाइ छ ।

सदनमा सांसदको प्रस्तुतिका सन्दर्भमा सांसद राणाले जनताका प्रतिनिधिको सर्वोच्च थलो सङ्घीय संसदमा अनुशासित र संयमित भएर छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गरे।

“सदनलाई मर्यादित तुल्याउन जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ”, सांसद राणाले भने, “केही सांसदले कहिलेकाही प्रोपागाण्डा बनाउन र सामाजिक सञ्जालमा छाउनका लागि अनेक किसिमले उटपट्याङ कुरा बोलेको पनि देखिन्छ, यसको उत्पादकत्व भने केही पनि छैन ।”

उनले सामाजिक सञ्जालमा छाउनेभन्दा पनि राष्ट्र निर्माणमा योगदान हुने गरी सदन र संसदीय समितिमा आफ्ना कुरा राख्नुपर्ने बताए ।