images

रविले सहकारीको रकम हिनामिना गरेको भए प्रमाण सहित कानुनी उपचारमा जानुहोस्ः सांसद कठायत

गत २०७९ साल मङ्सिर-४ गते सम्पन्र प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमार्फत प्रत्यक्ष तर्फका सांसदहरूको टुङ्गो लागेपश्चात् समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची तयार भयो । देशभरबाट निर्वाचित भएका विभिन्न पार्टीका प्रतिनिधिसहित समानुपातिकतर्फको-कसलाई राख्ने ? भनेर पार्टीहरूले नामलिष्ट तयार पारे । साेही अवसरमा पहिलाे पटक पार्टी गठन भएर जनतासामू निर्वाचनमा हाेमिएकाे पार्टी हाे राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा) । उक्त पार्टीकाे समानुपातिक सूचीमा मार्फत प्रतिनिधि सभाको यात्रा तय गरेकी सांसद हुन् विनिता कठायत ।

उनी कर्णाली प्रदेशको जुम्लाबाट समानुपातिक तर्फको उम्मेद्वार बनेकी थिइन् । पछिल्लो समय सांसद कठायतले प्रतिनिधि सभामा उठाउने सवाल देखि संसदीय समितिमा गर्ने प्रस्तुतीले उनको चर्चा चुलिदै गएको छ । राजनीति समाजसेवा भएपनि नेतृत्वले सम्पत्ति कमाउनुलाई राजनीति सम्झिरहेको बताउने कठायत जनताका छोराछोरीले राम्रो शिक्षा नपाएकोमा चिन्तित देखिन्छिन् । उनै  सांसद कठायतसँग राष्ट्रिय स्वतन्त्र पार्टी काम गर्न छोडेर किन मिसन २०८४ मा लोगेको  ? रास्वपा रवि लामिछानेको एकल निर्णयमा चल्ने पार्टी हो ? लोकप्रियता र स्टन्टबाजीको राजनीतिमा पार्टी अल्झिएको त छैन् लगायत समसामयीक राजनीतिक घटनाक्रम, संसद्मा उनको यात्रा र अनुभव लगायतका  सवालमा  स्पेस फोरके टेलिभिजनकाे कार्यक्रम स्पेस संवादका लागि  सपना  सिंहले गरेको कुराकानीको सम्पादीत अंशः

 प्रतिनिधि सभामा समानुपातिक सांसद बनेर आउनुभएको डेढ वर्ष पुग्नै लागिसक्यो ? पहिलाे पटककाे  संसदयात्रालाई कसरी लिनु भएको छ ?
यो अवधिमा  चाँहि सिक्दै बुझ्दै गयो, किनकी राजनीतिमा म नयाँ हुँ । संसदीय प्रक्रिया बुझ्नैमै समय बित्याे भनौँ ।

राजनीतिमा आउने इच्छा कसरी आयो ? तपाईं त मिडियामा अनि फिल्म क्षेत्रमा समेत आवद्ध व्यक्ति ?
राजनीतिमा म संयोगवश आएकी हुँ । पहिले नै निर्णय गरेकी पनि थिइनँ । राजनीतिमा आउने कुनै पूर्व तयारी थिएन । परिवारको राजनीतिक पृष्ठभूमि छ, त्यो अलग हो । म आफैँ राजनीति गर्छु भनेर सोचेकी थिइनँ । मेरो सम्पूर्ण ध्यान मिडियातर्फ थियो । एकवर्ष भन्दा बढी म ग्यालेक्सी फोर के टेलिभजनमा  सभापति रवि लामिछानेसँग काम गर्थेँ । उहाँले गरेका काम देखेकी थिएँ । मिडियामा बसेर त यत्तिको परिवर्तन ल्याउन सक्ने रवि जीलाई राजनीतिमा पनि साथ दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि राजनीतिमा  हाेमिएकी हुँ ।

संसदमा नयाँ हुनुहुन्छ । अन्य पार्टीका महिला सांसदहरुबाट कस्तो व्यवहार पाउनु भएको छ ? त्यसबारे तपाइकाे केही अनुभव छ तितो–मिठो ?
हजुर छ नि ! मलाई त अचम्म लाग्छ, त्यस्तो व्यवहार देख्दा, सम्झिँदा । खासमा महिला महिलाको सहयोगी अथवा शुभ-चिन्तक हुनुपर्ने हो । तर संसद् जस्तो गरिमामय स्थानमा पनि क्षमता, उसले सरकारसम्म पु¥याएका जनताका पीर मर्काभन्दा पनि कसले के लगायो भन्नेमा केन्द्रीत भइरहेकाे देख्छु।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको मात्रै एकल निर्णयमा चलिरहेको हो ?
यो भनाइ सरासर गलत हो ।  पार्टी सभापति रवि सरले अवश्य पनि पार्टीको मुख्य जिम्मेवारी सम्हाल्नु भएको छ । उहाँ पदीय हिसाबले सभापति हुनुहुन्छ ।  तर, एकलौटी हिसाबमा उहाँले केही त्यस्तो निर्णय गर्नुभएको छैन् । बरु सबैको सल्लाह र सुझावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई थप उचाइ पु¥याउने विषयमा लाग्नु भएको छ ।

रविमाथि  सहकारीको रकम हिनामिना गरेको आरोप लाग्दै आएको छ।  पार्टीमा यो विषयमा चर्चा भएको छ कि छैन् ?
यहाँ कसैले राम्रो गरेको देख्नै नसक्ने वर्ग पनि रहेछ । मैले रवि सरसँग मिडियामा काम पनि गरेको छु ।  उहाँ जनताका पीर मर्का कसरी समाधान गर्ने भनेर डट्नु भएको देखेकी छुँ । अनि उहाँमाथि नानाथरि आरोप लगाएर काम गर्न नदिने षडयन्त्र मात्र हो भन्ने पार्टीको धारणा हो । यदि रवि सरले भ्रष्टाचार गरेको अर्थात सहकारीको रकम हिनामीना गरेको प्रमाण विरोधीहरुसँग छ भने कानुनी प्रक्रिया जान चुनौति पनि दिन चाहन्छु ।

 हेर्नुहाेस्  कुराकानी पूरा (भिडियो)