images

८४ मा अर्को परिवर्तन आउँदैछ: रमेश प्रसाईं

सञ्चार क्षेत्रबाट बटुलेको लोकप्रियतालाई राजनीतिक दल निर्माणको टेको बनाएका रवि लामिछानेको रास्वपा पार्टी गठन भएको छोटो अवधिमै संसदको २१ सिटमा कब्जा जमायो । टेलिभिजनकर्ममा रवि लामिछाने प्रसंशा र आलोचनाको समानान्तर उचाईमा थिए । राजनीतिमा पनि यसले निरन्तरता पाएको छ । एकातिर उनलाई अपार जनसमर्थन छ, अर्कोतिर आलोचना र विवादको चाङ छ । उनी कसो कसो गरेर एउटा विवादको घेराबाट फुत्कन्छन, तर फेरि अर्को विवादको साङलोले घेरिहाल्छ । बहुवैवाहिक सम्बन्ध हुँदै नागरिकता र पासपोर्ट काण्डदेखि सहकारीसम्म आइपुग्दासमेत उनलाई भगवान मान्ने समर्थक र नेता मान्ने नवराजनीतिज्ञको कुनै कमी छैन । उनी पनि उहि ड्याङका मूला हुन भन्ने संख्यात्मक कम तर गुणात्मक पंक्तिको पनि अभाव चाहिँ छैन । कतिपय त के भन्छन भने उनी दुवैतिर धार भएका तरवार हुन जसले पुराना र आटडेटेड दल र नेतालाई त काट्छ नै कालान्तरमा इमानको राजनीतिलाई पनि छिनाल्छ ।

समानान्तर रुपमा देखिएको दुबै परिस्थितिकाबीच उनीबाट नेपाल र नेपालीको मुक्तिको सपना देख्ने मध्येका एक हुन रमेश प्रसाईँ । ताप्लेजुङको जन्म, झापा स्थायी घर भई हाल कपनमा बस्दै आएका प्रसाईँ रास्वपाको केन्द्रिय सदस्य हुँदै हाल सहप्रवक्ताको भूमिकामा छन् । उनको वाककलाको जति प्रसंशा गरे पनि कम हुन्छ । उनी पब्लिक स्पिकर हुन् । गायन र सञ्चारकर्ममा पनि उनलाई निकै रुचाइएको छ । प्रस्तुत छ रास्वपाका सहप्रवक्ता रमेश प्रसाईँसँग सरोज कोइरालाले समसामयिक विषयमा गरेको कुराकानी ।

तपाईं त ०७६ सालसम्म धरानस्थित गणतन्त्र एफएममा काम गर्दा वामपन्थी विचारधारामा विश्वास राख्नुहुन्थ्यो । तर अहिले लोकतान्त्रिक विचार राख्ने रास्वपाको सहप्रवक्ता जस्तो जिम्मेवार पदमा हुनुहन्छ । रास्वपामा वामपन्थी विचारधाराले स्पेस पाएको हो कि तपाईले छोड्नु भएको हो ?

विश्व राजनीति र नेपालमा पनि वामपन्थी विचारधारको औचित्य छैन भनेर म रास्वपामा प्रवेश गरेको हुँ । एउटा मानिस दुई प्रकारले कम्युनिष्ट हुँदो रहेछ । एउटा साँच्चिकै रुपान्तरणको चाहना राखेर । तर शक्तिको दुरुपयोग र खुराफाति गर्न नजान्दा मोहन वैद्य र मोहन विक्रमहरुले केहि गर्न नसक्दा रहेछन् । अर्को चाहिँ आफ्ना वरपरका धनाढ्यप्रतिको डाहाका कारणले कम्युनिष्ट हुँदो रहेछ । उसको समाज परिवर्तन र सर्वहाराको मुक्तिसँग कुनै लेनादेना नै नहुँदो रहेछ । आजका अधिकांश कम्युनिष्टको वास्तविकता नै यहि हो । क. मदन भण्डारीले बहुदलीय प्रतिष्पर्धा स्वीकार्नुभयो । जनयुद्ध पनि बहुदलीय प्रतिष्पर्धामै आएर अवतरण भयो । यसकारण मैले विचारको पूर्ण शुद्धिकरण गरेर लोकतान्त्रिक धाराबाट मात्रै समाजको परिवर्तन सम्भव छ भन्ने निष्कर्षका साथ कम्युनिष्ट छोडेको हुँ ।

तपाईंले विचारको शुद्धिकरण नै गर्नुभएको हो ? कि तपाई पनि धनाढ्य वर्गमा परिवर्तन हुनुभएको हो ?

म धनाढ्य भएको कुनै हालतमा होइन । म असाध्यै निम्न वर्गीय परिवारबाट आएको व्यक्ति हुँ । बुबाको नाममा भएको झापा मेचीनगरस्थित दुई तले घर र दमकको साढे एघार धुर जग्गाबाहेक म र मेरो परिवारका नाममा केही छैन । यो मेरो बुबाले शिक्षण पेशाबाट आर्जन गरेको सम्पत्ति हो । म राजनीतिमा सक्रिय रहँदै गर्दा अबको दश वर्षपछि पनि मेरो सम्पत्ति जाँच गर्दा वैधानिक बाहेक अरु केही भेट्नु हुने छैन ।

तपाईंको कमाई के छ त अहिले ?
म मोटिभेशनल क्लास लिन्छु । पब्लिक स्पिकिङका क्लासहरु पनि लिने गर्छु । म त्यस्तो प्रतिभावान कलाकार त होइन तर निधारमा श्री लेखेको रहेछ । मैले रमाइलोका लागि मात्रै दोहोरी खेल्दा पनि समाजले असाध्यै रुचाइदियो । यसकारण विभिन्न मेला महोत्सवमा मलाई बोलाइरहनुहुन्छ । मैले निश्चित पारिश्रमिक लिने गरेको छु । म आँफै पालिएको छु । मेरो पार्टीले यी ठूला पार्टी जस्तो कार्यकर्ता पाल्ने ठेक्का लिँदैन । हाम्रो पार्टीमा होलटाइमर कार्यकता हुँदैनन् । रास्वपा आफ्नो जोहो आँफै गर्ने आत्मनिर्भरहरुको पार्टी हो ।

तपाहरु ठूला र पुराना पार्टीहरुको विरोध बडो गज्जबले गर्नुहुन्थ्यो । हिजो सञ्चारकर्ममा रहँदा जुन हिसावले आवाज उठाउनुहुन्थ्यो, संसदमा पुगेर सत्ताको स्वादसमेत चाखेपछि त्यो अलि मत्थर भयो भन्ने टिप्पणी हुन थालेको छ । तपाई र तपाइको नेतृत्वलाई यसको भान छ ?

नेपाली लोकतन्त्रलाई लोकतन्त्र विरोधीहरुबाट होइन, लोकतन्त्रवादी भनाउँदाहरुबाटै खतरा छ । लोकतन्त्रलाई भागवण्डाको माध्यम बनाइएको छ । एमाले कोटाबाट अख्तियार प्रमुख प्रेम राई आए । दीप बस्नेत राप्रपाको कोटामा आए भनेर कसलाई थाहा छैन ? चोरलाई चाबी बुझाएर लोकतन्त्रको नग्न मजाक बनाइयो । यिनीहरुप्रतिको चरम वितृष्णा र यसबाट उन्मुक्ति पाउने आशाको अभिव्यक्ति हो रास्वपाले पाएको मत । हाम्रा २१ जना साथीहरुको उपस्थितिका कारण संसद संसद जस्तो छ । सामाजिक सञ्जालमा सबैभन्दा बढि संसद हेरिएको यसपटक हो । किन ? किनकि संसदमा हाम्रो उपस्थिति छ ।

तर जनतालाई यतिमात्र अपेक्षा त थिएन नि । चुनावभन्दा केहि महिना अघि खोलेको पार्टीलाई यत्तिका जनमत प्राप्त भएको यत्तिका लागि हो र ? यत्तिका धेरै भ्रष्टाचारका काण्ड छन, विकृति, विसंगति बढेको छ । खोई तपाईहरुले सातो लिएको ?

सुनकाण्डमा अध्यागमन विभागका तत्कालिन महानिर्देशक झलकराम अधिकारी र सुन तस्कर दावाको बीचमा भएको कुराकानी मेरो पार्टी सभापतिले गृहमन्त्रीलाई उपलब्ध गराउनुभयो । अनि अस्ति भर्खरै पत्रकार भेटघाटमा सार्वजनिक पनि गर्नुभयो । सबै काण्डहरुबारे सदनमा र संसदीय समितिमा कसैले बुलन्द आवाज उठाइरहेको छ भने त्यो रवि लामिछानेको नेतृत्वमा रास्वपाले उठाइरहेको छ । जन अपेक्षा पुरा भएको छैन भन्ने त मलाई पनि लाग्छ तर हाम्रो भूमिकालाई व्यवहारिक तराजुमा राखेर हेर्नुपर्ने हुन्छ । जनताका लागि केही गर्नुपर्ने दायित्व भए पनि हामी कार्यकारी भूमिकामा छैनौँ । गर्न चाहेर पनि गर्न नपाएको चाहिँ साँचो हो ।

सडक र सदनभन्दा ठूलो प्लेटफर्म अरु केहि छ र ? सिंहदरवारमा भएकालाई पनि तह लगाउन र सही बाटोमा हिँड्न बाध्य बनाउन सकिन्छ नि यहाँबाट ?

भर्खरै मेरो नेता रवि लामिछानेले नारायणगढ–बुटबल खण्डको एक सय तेह्र किलोमिटर पैदल यात्रा गर्नुभयो । यसको उद्देश्य दबाब दिने नै थियो । दुई वर्षमा बन्नुपर्ने बाटो पाँच वर्षमा पचास प्रतिशत पनि बनेको छैन । मैले टेलिभिजन अन्तर्वार्ता लिँदा सडक विभागका तत्कालिन महानिर्देशक अर्जुनजंग थापाले तिब्र गतिमा निर्माण हुन्छ भन्ने प्रतिवद्धता गर्नुभएको थियो, एक महिनामा उहाँको सरुवा भइहाल्यो । तसर्थ रास्वापाले हरेक तह र तप्काबाट दबाव सिर्जना गरिरहेको छ । तपाईंलाई थाहा छ, केही समय अघि रास्वपा जनताका बीचमा गाउँ पनि गएको थियो । त्यसपछि अहिले सबै गाउँ जान थालेका छन ।

रवि लामिछाने पैदल यात्राभन्दा पनि सिंहदरवार अगाडि अथवा ढिलासुस्ति गर्ने ठेकेदार कम्पनिको कार्यालय अगाडि विरोधस्वरुप एक घण्टा उभिदिएको भए यसले अझ बढि दवाव सिर्जना गथ्र्यो होला नि । त्यत्रो पैदल यात्रा गरेर स्टन्टबाजी गर्नुपथ्र्यो र ? कि यो त्यस क्षेत्रमा पार्टीको संगठन विस्तार गर्ने काइदा हो ?

हाम्रो पार्टीको संगठन विस्तार गर्न कुनै पनि काइदाको आवश्यकता छैन । पार्टी गठन भएको छोटो अवधिमै हामीले पाएको मत नेपालमा मात्र होइन दक्षिण एसियाकै इतिहासमा एउटा दुर्लभ घटना हो । आज हाम्रा पार्टीका सदस्यहरु कुनै गाउँमा पुग्दा युवाहरु निस्कने, वृद्ध बा आमाहरु फुलमाला लिएर निस्कने, बालबालिकाहरु समेत भविष्को आशामा अल दि बेष्ट भन्दै निस्कने गरिरहेका छन । यो पनि त नेपाली राजनीतिको विरलै दृष्य हो ।

यस्तो दाबी त मध्यपहाडी यात्रा पछि केपी ओली र उहाँको पार्टी एमालेको पनि छ नि ?

बसमा मान्छे ओसार्नु र स्वतःस्फुर्त निस्कनुमा फरक छ नि । यस विषयमा म डिटेलमा जान चाहन्न । ए अरुकोमा मान्छे आउँदा चाहिँ बसमा ओसारेको, तपाईहरुकोमा मान्छे आउँदा चाहिँ स्वतस्फुर्त ? हामीसँग तथ्य छ । बहुलवादी समाजमा विभिन्न राजनीतिक दल हुन्छन, आ आफ्ना उद्देश्य पुरा गर्न अनेक हतकण्डा प्रयोग गर्छन । त्यो उनीहरुको आफ्नो कुरा हो । म अरुका विषयमा डिटेलमा गइन । तर हाम्रो पार्टीप्रति जनसाधारणको असाधारण विश्वास छ ।

जहाँसम्म स्टन्टको कुरा छ, बस जलाएर राजनीति गर्न पल्किएकाहरुले रवी लामिछानेले बस चलाएर राजनीति गर्न खोज्दा स्टण्ट भने । हामीले मोबाइल क्लिनिक चलाउँदा, हाच्छ्यु आउँदा सिंगापुर पुग्नेहरुले यसलाई पनि स्टण्ट भने । यी स्टण्ट हुन भने, हामी देशैभर यस्ता स्टण्ट निरन्तर गरिरहन्छौँ । मिशन चौरासीको नक्कल गरेजस्तै अन्य दलले पनि यस्ता स्टण्ट नक्कल गरे फाइदै हुन्थ्यो नि ।

२०७९ को आम चुनावमा पाएको जनमत अनुसार पाँच वर्ष खुरुखुरु काम नगरेर त्यो जनमतको अपमान गर्दै मिशन ८४ का नाममा गाउँ डुल्ने अधिकार कसले दियो ?

हामीले आज संसदमा प्राप्त २१ सिटको अधिकतम सदुपयोग गरेका छौँ । इतिहासले यसको मूल्यांकन गर्नेछ । रवि लामिछाने गृहमन्त्री हुँदा सरुवा बढुवामा एक पैसा पनि लेनदेन नभएको इतिहास रचियो । प्रधानमन्त्री प्रचण्डले अस्ति सम्बोधनका क्रममा श्रेय लिन खोज्नुभएको भर्ना अगावै पाठ्यक्रम पुगेको कुरा तत्कालिन शिक्षा मन्त्री शिशिर खनालको कमाल थियो । बौद्धिक सम्पत्ति चोरी भए जस्तै राजनीतिमा श्रेय चोरी हुँदो रहेछ । अब मिशन ८४ किन त भन्दा, नेपालमा १५/२० वर्षमा युगान्तकारी परिवर्तन भइरहेको छ । ८४ मा अर्को परिवर्तन आउँदैछ । हामी युवा पुस्तालाई अबको ४ वर्षपछि हुने युगान्तकारी परिवर्तनका लागि तयार पार्न चाहन्छौँ । हामीले जनतालाई विश्वास गर्नुस भनेका छैनौँ, परिक्षण गर्नुस भनिरहेका छौँ, ४ वर्षपछि । हामी संसद र सदनबाट दवाव सिर्जना गरिरहेका छौँ । तर अब केही गर्न कार्यकारी भूमिका चाहिन्छ । त्यो मिशन ८४ मा प्राप्त हुन्छ । मिशन ८४ ले युगान्तकारी परिवर्तन ल्याउँदैछ ।

तपाईहरु पुराना दल र नेताहरुलाई पदलोलुप भनेर आलोचना गर्नुहुन्छ । तपाईंहरु पनि त फरक देखिनुभएन । सह थपेर पदाधिकारीमा भागवण्डा गर्नुभयो । तपाईं नै सहप्रवक्ता बस्नुभयो । प्रवक्ता भएपछि पुग्छ, सहप्रवक्ता चाहिँदैन भन्न त तपाईँले पनि सक्नुभएन नि ?

म सहप्रवक्ता हुँदैछु भनेर थाहै थिएन । एकै चोटी घोषणा भयो, गडगडाहट ताली बज्यो । मसँग पूर्वसहमति थिइएको थिएन । म मात्र होइन रास्वपाका कुनै पनि सदस्यमा पदलोलुपता छैन । हावाको भरमा गुट मिलाउन पद सिर्जन गरिएको होइन । पद अनुसारको जिम्मेवारी स्पष्ट गरिएको छ । ३ सहमहामन्त्री र ३ सहप्रवक्ताका तीन थरी नै जिम्मेवारी तोकिएको छ ।

पदाधिकारीका आंकाक्षी तोसिमा कार्कीहरुलाई नराम्रोसँग पन्छाइयो नि ?

सांसदहरुलाई मूलतः संसदीय भूमिकामा केन्द्रित गर्ने र अन्यलाई क्षमता अनुसार संगठनमा प्रयोग गर्ने कुरा विश्व राजनीतिमा हुँदै आएको अभ्यास हो । जहाँसम्म तोसिमा जीको कुरा छ, उहाँ पार्टीको कर्तब्यनिष्ठ संस्थापक सदस्य हो । तोसिमा कार्की रास्वपाको ब्राण्ड हो । उहाँलाई पार्टीले जाजरकोटमा खटायो, तिहार नमानी उहाँले भूकम्प पीडितलाई चिकित्सा सेवा दिनुभयो । अहिलेको विधान अनुसार सभापतिलाई पदाधिकारीको घोषणा गर्ने अधिकार छ । यस अनुसार उहाँले केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकमा घोषणा गर्नुभएको हो । महाधिवेशन बाहेक पार्टीको ठूलो प्लेटफर्म यहाँभन्दा अर्को के हुन्छ । गडगडाहट तालिका साथ पारित गरिएको हो नि पदाधिकारीहरुको घोषणा । वैठकमा उपस्थित तोसिमा जी सहित हरेक सदस्यले यसको अपनत्व लिनुपर्छ ।

विधानको व्यवस्थाको नाममा सभापति रवी लामिछानेले आफ्ना नजिककालाई पदाधिकारी बनाएर भोली आफ्नो विरोध गर्न सक्ने या राजनीतिक र सांगठनिक रुपमा टक्कर दिन सक्नेलाई पन्छाएको त हो नि, होइन ?

आफ्ना भनेको को हो ? रास्वपाका हरेक सदस्य सभापति रवी लामिछानेका आफ्ना हुन । रवी लामिछानेलाई सबैले नेता मानेरै यो अभियानमा होमिनुभएको हो नि । सुरुमा यतिका सिट आउँछ भन्ने कहाँ थाहा थियो र ? त्यतिबेला तोसिमा जी, सोविताजीहरुले जुवा खेल्नु भएको होइन आफ्नो करिअरको ? अनि उहाँहरु आत्मिक रुपमा सभातिको नजिकको मान्छे होइन र ?

तपाई उत्कृष्ट वाककला भएको व्यक्ति हुनुहुन्छ । बोल्न जानेपछि जनताले पत्याइहाल्छन भनेर हो कि केहि भिजन भएर, देश बनाउन राजनीतिमा आउनुभएको हो ? तपाईंको यो वाककलालाई कुनै राजनीतिक दल र नेताले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग मात्र गर्ने त होइनन ?

म कसैले हचुवाको भरमा फकाएर प्रयोग हुने त्यति कमजोर चेतना भएको मानिस होइन । म राजनीतिमा आउनुका पछाडि व्यक्तिगत र दलगत कारण छन । व्यक्तिगत के हो भने म मेरो जन्मलाई सार्थक बनाउन चाहन्छु ता कि जीवनको उत्तराद्र्धमा मेरो जीवनको समिक्षा गर्दा आनन्द आवोस । मैले मेरो समयमा मेरो देश, मेरो परिवेश र मेरो समाजका लागि मैले जानेको, सकेको योगदान दिएँ भनेर आत्मसन्तुष्टि लिन सकुँ । दलगत कारण भन्नु पर्दा यो पहिलो पार्टी हो जसले प्राइमरी इलेक्शनलाई स्वीकार गरेको छ, राइट टु रिजेक्ट र राइट टु रिकलको मुद्दा उठाएको छ, भ्रष्टाचारीलाई ७२ घण्टाभित्र कारवाही गरेर नेपाली राजनीतिमा रेकर्ड राखेको छ, सरकारमा रहँदा नियतको शुद्धता प्रमाणित गरेको छ, हरेक कमिटिमा ५० प्रतिशत प्लस १ युवा भनेको छ, जान्नेलाई छान्ने भन्ने मान्यता राखेको छ । यस्ता थुप्रै उन्नत मान्यताका कारण म रास्वपामार्फत राजनीतिमा आएको हुँ ।