images

२२९ जना सैनिक क्याडेटका लागि भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाको अधिकृत क्याडेट पद (सहायक सेनानी) मा भर्ना खुलेको छ ।

नेपाली सेनामा रिक्त अधिकृत पदमा खुल्ला र समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न लागिएको भन्दै जंगी अड्डाले दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेकाहरुले नेपाली सेनाको वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । उक्त फाराम डाउनलोड गरि प्रिन्ट गरेर, १० रुपैयाँको टिकट टाँसेर आफैं उपस्थिति भई दरखास्त पेस गर्नुपर्नेछ ।

अधिकृत क्याडेट पदका लागि सैनिक साधारण सेवातर्फ २२९ जनाको भर्ना खुलेको छ । यसभित्र खुलामा १२२ जनाको कोटा छ । यसैगरी सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दागर्दै कुनै शारीरिक चोटपकट लागि सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई १२ जनाको कोटा छुट्याइएको छ । समावेशीतर्फ महिला १७, आदिवासी जनजाती ३३, मधेशी २७, दलित १५ र पिछडिएको क्षेत्रमा ३ जनाको कोटा छ ।

अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ ।

साथै अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्त पेस गर्ने अन्तिम मिति मंसिर १६ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेदेखि २३ गतेसम्म बुझाउन सकिन्छ ।

दरखास्त दस्तुर एक हजार रुपैयाँ तोकिएको छ । तर समावेशीतर्फ एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहका लागि थप २० प्रतिशतको दरले अतिरिक्त दस्तुर लाग्ने छ ।

दरखास्त दस्तुर नेपाल बैंकको काठमाडौंभित्र रहेका कुनै पनि शाखा कार्यालयबाट बुझाउन सकिने नेपाली सेनाले सूचनामा जनाएको छ ।