images

 विद्यालयहरू आफैँले पाठ्यपुस्तक, पोसाक र स्टेशनरी विक्री गर्न नपाउने  

काठमाडौं– काठमाडौं  महानगरपालिकाभित्रका विद्यालयहरू (सामुदायिक र संस्थागत)ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोसाक तथा स्टेशनरी विक्री गर्न ठाउँ तोक्ने र तोकिएको ठाउँमा मात्र खरिद गर्न बाध्य गर्न नपाउने भएका छन् ।

महानगरपालिका शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ ।  सामुदायिक विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यपुस्तक मात्र प्रयोग गर्न पाउनेछन् । अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नु परेमा केन्द्रले अनुवाद गरेर प्रकाशन गरेका वा सूचीकृत भएका मात्र प्रयोग गर्नुपर्ने भएको छ । यसबाहेकका पाठ्यपुस्तकका लागि महानगरपालिकाले भुक्तानी नगर्ने समेत जनाएको छ ।

संस्थागत विद्यालयले पनि पाठ्यक्रम विकास केन्द्रले सूचीकृत गरेका पाठ्यसामग्री मात्र प्रयोग गर्न गराउन भनिएको छ । विद्यार्थीहरूलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्यसामग्री, पोसाक, स्टेशनरी लगायत सामग्रीहरू खरिद गर्न बाध्य गराउन पाइनेछैन । यस्ता सामग्री विद्यालयबाट विक्री गर्न समेत पाइनेछैन ।

विद्यालयहरूले यस विपरीत कार्य (स्वीकृत पाठ्य सामग्री प्रयोग नगरेमा तथा पोसाक, स्टेशनरी लगायतका सामग्रीहरू विद्यालयबाट खरिद गर्न विद्यार्थी तथा अभिभावकहरूलाई बाध्य गराएमा ) शिक्षा ऐन, २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५, नियमावली २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही जनाएको छ ।

विद्यालयहरु आफैँले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने