images

लुम्बिनीका मुख्यमन्त्रीले गरे एकै दिन दुई पटक मन्त्रीपरिषद् विस्तार

काठमाडौं–साना दलको असन्तुष्टिका बाबजुद लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले एकै दिन दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

बिहीबार बिहान मन्त्रिमण्डल बिस्तार गरेर १० सदस्यीय बनाएका महराले दिउँसो पुन एक मन्त्री थपेका छन् । उनले एकीकृत समाजवादीबाट भगवती चौधरीलाई मन्त्री बनाएका हुन्। योसँगै लुम्बिनीमा मन्त्रिपरिषद्को सङ्ख्या ११ पुगेको छ । तर बिहीबार थपिएका सातै जनालाई मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन ।

मुख्यमन्त्री महराले बिहीबार बिहान एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्र एक गरी ६ जना मन्त्री थपेका थिए । थपिएका ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीको कार्य विभाजन गरिएको छैन । यसअघि नै एमालेका चेतनाथ आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बाँकी सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री महराले सम्हालिरहेका छन् । मन्त्रिपरिषद् विस्तारमा सरकारमा सहभागी तीन साना दलले भने असन्तुष्टि जनाएका छन् । तर, मुख्यमन्त्री महराले एमालेसँग भएको सहमति कार्यान्वयन गर्दै मन्त्रिमण्डल बिस्तार गरेका हुन् । बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेपछि मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।