images

नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न बालकृष्ण खाँणको राष्ट्रपतिसँग आग्रह

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरे ।

संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो विधेयकलाई प्रमाणिकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहिनहरुलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने उनको भनाई थियो ।

आईतबार नेपाल प्रेस युनियन, धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले सो विधेयक प्रमाणिकरणका लागि आवश्यक वातावरण बनाउन सरकार र राजनीतिक पार्टीहरुको पनि ध्यानाकर्षण गराए ।

संविधान अनुसार संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक प्रमाणिकरणका लागि पठाइएको सो विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालयमै थन्किएर बसेको छ ।

नेता खाँणले संविधानको प्रावधान अनुसार नै आएकाले सो विधेयकलाई प्रमाणीकरण गर्न ढिलाई गर्नुपर्ने कुनै कारण नरहेको जिकीर समेत गरेका छन् ।

उनले बैशाख १० गते हुने बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहु क्षेत्र नम्बर १ को उपचुनाव सकिएलगत्तै सबै प्रदेशमा मुख्यमन्त्री आलोपालो हुने गरी सत्तारुढ दलहरुले प्रदेश सरकार पुनर्गठन गर्ने पनि स्पष्ट पारे ।