images

राजनीतिक तरंगकाबीच काठमाडौंमा राजावादीहरूको शक्ति प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो

काठमाडौं पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउने अवसर पारेर राजावादीहरूले काठमाडौंमा शक्ति प्रदर्शनको तयारी गरेका छन् ।

पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र आज अपराह्न काठमाडौं आउन लागेका छन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईँले काठमाडौँमा संयुक्त रूपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।

उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आह्वान गरेको छ । राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेर विमानस्थलमा भेला भई शाहको स्वागत गर्ने राजावादीहरूको तयारी छ ।

फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।

पूर्वराजाको अपिलले राजवादीहरू हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरू पनि तरंगित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।

यसैबीच, राजावादीहरूले गर्ने शाहको स्वागत कार्यक्रमलाई लिएर स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सुरक्षाको प्रबन्ध बलियो पारिएको बताए । उनले सुरक्षाका सबै निकायहरू परिचालन गरिएको जानकारी दिए ।

पूर्वराजाको स्वागतका लागि हुने कार्यक्रमको सुरक्षाको जिम्मेवारी जिल्ला सुरक्षा समितिलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी बताउँछन् ।