images

लगानीका लागि हिन्दूस्तान, चीन वा बङ्गलादेश जानुभन्दा नेपालमा सजिलो छ भन्ने वातावरण बनाउन देश नै लाग्नुपर्छ

चितवन । पूर्वअर्थमन्त्री महेश आचार्यले देशको अर्थतन्त्रमा सुधार ल्याउन अभियानाका रूपमा आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार चितवनमा आयोजित पत्रकारहरुसँगको कुराकानीमा उनले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

“जुन अभियानले लगानीका गन्तव्य नेपाल बनोस् । देशभित्रका उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सजिलो बनाउने गरी सरकारले नीति निर्माण गरोस् पूर्वअर्थमन्त्री आचार्यले भने, “लगानीकर्तालाई लगानीका लागि हिन्दूस्तान, चीन, बङ्गलादेश र श्रीलङ्का जानुभन्दा नेपालमा सजिलो छ भन्ने वातावरण बनाइ लागनीको गन्तव्य बनाउन सिङ्गो देश लाग्नुपर्छ ।”

राजनीतिक स्थिरतासँगै जिम्मेवार सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने, “मुलुकमा लगानी बढाउन र समुदायको आयआर्जनलाई फराकिलो बनाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

निर्यात साँघुरो बन्दै गएको, आयातमा निर्भरता बढ्दै गएको र राजस्व परिचालन अपेक्षाअनुसार हुन नसक्दा खर्चको संरचना नियन्त्रण बाहिर जान खोजेजस्तो देखिएको उनको भनाइ थियो ।

चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा असन्तुलन बढेको उनले बताए । रासस