images

भूकम्पको थप अध्ययन तथा अनुसन्धान गर्न भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

काठमाडौँ । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकोट पुगेको छ ।

केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।

उक्त टोलीले कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे अध्ययन गर्ने जनाइएको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२:२९ बजे ४ दशमलव २, १२:३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३:४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ ।

उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।