images

हरेक वर्ष ५ हजारलाई रोजगारी दिने बालेनको घोषणा, भाडामा बस्नेले पनि पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले हरेक वर्ष ५ हजारलाई नयाँ रोजगारी सिर्जना घोषणा गरेको छ ।

महानगर प्रमुख बालेन्द्र शाहले बेरोजगारी समस्यालाई ३ वर्षभित्र समाधान गर्न वार्षिक कम्तीमा १५ हजारलाई सीपमुलक तालिम दिने समेत घोषणा गरेको हुन् ।

‘रोजगारी र आयवृद्धि काठमाडौंको सम्वृद्धि’ भन्ने गौरवको योजना कार्यान्वयन गर्दे मेयर बालेनले श्रम बैंक मार्फत काम गर्ने बताएका हुन् ।

‘महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदारहरु र रोजगार दाताहरूलाइ एउटै प्लेटफर्ममा ल्याएर श्रम बैंक को स्थापना गरेर रोजगारीको अवसर बढाउने र रोजगारदाताहरूलाई सीप युक्त कामदार सजिलै उपलब्ध गराउने लक्ष्य सहित श्रम बैंकका योजना अन्तर्गत कार्यक्रम सञ्चालनमा ल्याएको बालेनले बताएका छन् ।

महानगरपालिकाका अनुसार महानगरका स्थायी बासिन्दा, महानगरका करदाताहरु तथा महानगरभित्र भाडामा बस्ने सबै नेपाली नागरिकहरु श्रम बैंकमा आबद्ध हुन सक्नेछन् ।

चालु आर्थिक वर्ष२०८०/८१ मा काठमाडौं महानगरपालिकाले महानगर गौरवको आयोजना, स्वर्णिम आयोजना र वडा तथा महानगरपालिका मार्फत हुने अन्य योजना छुट्टाएको थियो । बेरोजगार जनशक्तीहरुलाई श्रम बैंकमा आबद्ध गरेर आवश्यक स्थानमा परिचालन गर्ने महानगरको स्वर्णिम योजना हो ।

श्रम बैंकमा सूचीकृत जनशक्ति कसरी परिचालन हुन्छ ?

मेयर बालेनले भिडियो सन्देशमा सोही कुरालाई उल्लेख गर्दै श्रम बैंकमा आवद्ध भएका जनशक्तिलाई ३ क्षेत्रमा विभाजन गरेर परिचालन गर्ने बताएका छन् ।

महानगर भित्रै पूर्वाधार विकास, वातावरण संरक्षण, सरसफाइ, सामाजिक विकास लगायतका क्षेत्रहरुमा आन्तरिक व्यवस्थापन गर्ने पहिलो क्षेत्र रहेको बालेनले बताएका छन् । यस्तै महानगरको ‘जब पोर्टल’ मार्फत अन्य सरकारी निकाय, गैरसरकारी संघ संस्था, प्राइभेट कम्पनी, संघ संस्था, अन्तर्राष्ट्रिय संघ संस्थाहरु परिचालन गर्ने महानगरको तयारी छ ।

जनशक्ति व्यवस्थापनका लागि अर्को क्षेत्र महानगरको श्रम बैंक एप मार्फत आंशिक समय नोकरीको रुपमा सबै सेवा घण्टाका आधारमा तथा पटकेका रुपमा जुन सुकै कामहरु गर्न मिल्ने व्यवस्था मिलाइने मेयर बालेनले बताएका छन् ।

श्रम बैंक मार्फत सूचीकृत भएका सबै किसिमका कामदारहरुलाई काम गर्दाका बखत महानगरले अनिवार्य बीमा गरिदिनेछ । यस्तै महानगरको गौरवको योजना मार्फत विभिन्न १५ स्थानहरुमा महानगरको आफ्नै ट्रेनिङ सेन्टरको स्थापना गरी १२ महिना बिहानदेखि साँझसम्म नियमित तालिम सञ्चालन गरिने बालेनले बताएका छन् ।