images

सीआईबीले रविलाई शनिबार बिहानै बुझायो कास्की प्रहरीलाई

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको जिम्मा लगाएको छ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहान करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो।

सीआईबीले सुरुमा रविलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो। उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्।

रविलाई पोखरामा पुर्याएर कास्की प्रहरीको हिरासतमा राखेपछि रास्वपा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसँगै रविपत्नी निकिता पौडेलले भेट गरेका थिए। त्यसअघि कार्यकर्ताले प्रहरी कार्यालयमा रविको पक्षमा नाराबाजी गरिरहेका थिए।

लामिछानेमाथि सूर्यदर्शनलगायतका सहकारीको रकम ठगीको आरोप छ।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराध अपराधको अभियोग छ। प्रहरीले आइतबार अदालतबाट पहिलो पटक समय लिँदै लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्नेछ।