images

मिटर ब्याज पीडितलाई भेट्दै प्रधानमन्त्री दाहाल, माग सम्बोधन गर्न समिति गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटर ब्याज पीडितलाई भेटेर छलफल गर्ने भएका छन् ।

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति गठनसमेत गरेको छ ।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानून मन्त्रालयका प्रतिनिधि सहितको वार्ता समिति गठन गरेका हुन् ।

समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर दंगा रहेका छन् । 

चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री प्रचण्डसँग भेट्ने वातावरण बनाउने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले आजै मिटर ब्याज पीडितसँग भेट्ने तयारी गरेको उनले बताए ।

साथै, प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज पीडितहरुको समस्या समाधानका लागि कानूनको मस्यौदा बनाउन पनि निर्देशन दिएका छन् ।

आज बस्ने मन्त्रिपरिषद बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी कानूनको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्विकृति प्रदान गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो काम फास्ट ट्र्याकबाट गरिने प्रधानमन्त्रीको सचिवालयका सदस्य शर्माले जानकारी दिए ।