images

बर्दियाको टपरा गाँउमा चितुवा आतंक, स्थानीय त्रसित

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका बजार छेउमै रहेको टपरा गाँउमा चितुवा आउन थालेपछि बस्तिमा क्यामरा जडान गरिएको छ ।

दैनिकजसो साँझ पख चितुवा गाउँ प्रवेश गरि घरपालुवा पशुचौपायालाई जोखिम बढेको छ ।

बर्दियाको गुलरिया नगरपालिका बजार छेउमै रहेको टपरा गाँउमा चितुवा आएर पशुचौपाया खान थालेको गुनासो आएपछि डिभिजन वन कार्यालयले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई खबर गरि क्यामरा जडान गरिएको हो ।

चितुवाले दिनहुँ घर पालुवा जनावर मारेर खान थाले पछि ज्यान जोगाउन राती जाग्राम बस्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । बस्तीमा दिनहुँ गाँइ, भैसी, बाख्रा कुकुर माथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन ।

बस्ती नजिकैको उखुबारीमा चितुवाको बास हुँदा स्थानीय खेतबारीमा जान समेत डराइ रहेका छन् । भारतसँग सीमा जोडिएको गरिब तथा विपन्नहरुको बसोबास रहेको टपरा बस्तीमा दिनहुँ जसो चितुवा गाँउमा पस्ने गरेको छ ।

गत पुस १८ गतेदेखि २ वटा बाख्रा, २ वटा गाई र २ वटा कुकुरलाई चितुवाले आक्रमण गरी मारिसकेको छ । पशु चौपाया र आफ्नो ज्यानको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले स्थानीयलाई सताएको छ ।

चितुवा बस्तिमा पसेको २२ दिन पछि डिभिजन वन कार्यालयको टोली त्यस तर्फ पुगेको छ । चितुवा नियन्त्रणका लागि पहल भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

बर्दियाको ८३ किलोमिटर भूमि भारतीय सीमासँग जोडिएको क्षेत्रमा जंगलले घेरिएको छ भने बर्दिया राष्ट्रिय निकुञ्जको ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफल मध्ये ७० प्रतिशत जंगलले घेरिएको छ ।

बर्दियाको सदरमुकाम गुलरियादेखि टपरा गाउँ डेढ किलो मिटरको दुरीमा रहेको छ । मानव र वन्यजन्तु द्वन्द्वका घटनाले विशेषगरी गरिब र सिमान्तकृत समुदायलाई प्रतिकुल असर गर्ने गरेको छ ।