images

गाउँपालिकामा पराजित भएका सिंह मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं–जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त सतिश सिंह सप्तरी २ को (१) बाट प्रदेशसभा निर्वाचित भएका हुन् । उनी २०७५ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडीका गाउँपालिकाका अध्यक्ष निर्वाचित भए पनि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाे अध्यक्षमा पराजित भएका थिए । तर उनी  सोही वर्षको आम निर्वाचनमा जनमत पार्टीको उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित हुन सफल भएका थिए ।

जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा विश्वासको मत प्राप्त गुमाएपछि बुधवार प्रदेश प्रमुख सुवेदीले शुक्रवार १० बजेको समय सीमा तोकी संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्तिका लागि आव्हान गरेकी थिइन ।

मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), जनमत पार्टी, रिजवान अन्सारी नेतृत्वको सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ५५ सदस्यको समर्थन रहेको छ ।