images

शिशु जन्माउन नसकेकी हुम्लाकी २३ वर्षीय युवतीको हेलिकोप्टरमार्फत उद्धार

हुम्ला । हिमाली जिल्ला हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी महिलालाई १७ घण्टापछि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

व्यथा लागेर थला परेकी अदानचुली गाउँपालिका–४ की २३ वर्षीया राजकला ढकाल (पाण्डे)लाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरेर कालागाउँस्थित सुर्खेत प्रदेश अस्पतालमा पुर्याइएको सोही गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख हङ्सबहादुर महताराले बताए ।

आमा र शिशुको ज्यान बचाउन विभिन्न निकायमा पहल गरी बिहीवार बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको हो । पाण्डेको गर्भमा रहेको शिशु जन्मने अनुमानित मिति यसै महिनाको २० गतेका लागि दिइएको थियो । व्यथा लागेपछि श्रीनगर स्वास्थ्यचौकीमा भर्ना भएकी उनको जटिल स्थिति (ब्रिज प्रिजेन्टेसन) भएकाले बुधबार नै रिफर गरिए पनि यातायातको साधनको अभाबमा बिहीबार बिहान मात्र सुर्खेत पुर्याइएको उनको भनाइ थियो ।

पाण्डेको उद्धारका लागि प्रयोग भएको नेपाली सेनाको हेलिकोप्टरको खर्च सङ्घीय सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धारकार्यक्रमबाट ब्यहोरिने भएको छ। रासस