images

राष्ट्रपतिबाट आममाफी पाएका ५५ वर्षीय थापा बालक अपहरणको केशमा फेरि पक्राउ

चितवन । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर जेलबाट छुटेका एक जना व्यक्तिलाई प्रहरीले पुनः पक्राउ गरेकोे छ ।

पक्राउ पर्नेमा चितवनका ५५ वर्षीय रामचन्द्र थापा रहेका छन् । अपहरण गरी ज्यान मार्ने धम्की दिएको आरोपमा उनलाई चितवन प्रहरीले पक्राउ गरेको जनाएको छ ।

९ वर्षको कैद सजाय पाएर जेलमा बसेका तर असल चालचलन गरेको भन्दै उनलाई राष्ट्रपतिबाट गत जेठ १४ गते मात्रै सजाय छुट गराएर जेलबाट निकालिएको थियो ।

थापामाथि २५ लाख रुपैयाँ नदिए भरतपुर महानगरपालिका-१ का सोमराज सुवेदी र उनका १३ वर्षीय छोरालाई अपहरण गरी मारिदिने धम्की दिएको आरोप छ ।

सुवेदीले भरतपुर १ मा धनवन्तरी मेडिकल सञ्चालन गर्दै आएका छन् । थापाले सुवेदीलाई फोन गरेर २५ लाख नदिए छोराको अपहरण गर्ने धम्की दिएको प्रहरीको भनाइ छ ।

प्रहरीले उनलाई भरतपुर अस्पतालको नयाँ गेट अगाडिबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका थापाविरूद्ध मंगलबार अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनका अनुसार आरोपित थापाले हिन्दी भाषामा बोलेर सुवेदीलाई धम्क्याएका थिए । थापाको विगत हेर्दा पटक-पटक अपराधमा संलग्न भएको र गणतन्त्र दिवसका दिन आममाफी पाएर जेलबाट छुटेको देखिएको छ ।