images

हिमाली क्षेत्रमा चिसो बढेपछि सदरमुकाम सारिए सीमा क्षेत्रका प्रहरी चौकी

हुम्ला । हिमालपारिको गाउँ लिमीमा जाडो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण गरिएको छ ।

चिसो बढेको र हिउँदको समयमा आउजाउ नहुने हुँदा नाम्खा–६ सुनखानी लिमीस्थत प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।

सदरमुकाम सिमकोटबाट ५४ कोश दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए ।

उनले भने, “गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।”

नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।

उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा नौ जना सुरक्षाकर्मी खटिएका थिए । रासस