images

कोशी प्रदेशले सभामुख पाउँदै,राप्रपाका विष्ट निर्विरोध हुने सम्भावना

काठमाडौं–कोशी प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । तत्कालिन सभामुख सभामुख बाबुराम गौतमले राजीनामा दिएर सरकार गठनमा सहयोग गरेपछि गत १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । कार्यसूची भने केहिबेरमा प्रकाशन हुने उपसभामुख सिर्जना दनुवारले जनाएकी छिन् ।

सभामुखको टुंगो लगाउने विषयमा छलफल गर्न दलहरुको बैठक पनि बसिरहेको छ । सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो । गठबन्धनले निर्णय गरेपछि राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेके संसदीय दलको बैठकले निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । राप्रपाले यस अघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

नेकपा एमालेले उम्मेदवारी दिने निर्णय नगरे विष्ट निर्विरोध निर्वाचित हुनेछन् ।