images

कोशी प्रदेशको सभामुखमा एमाले समेत राप्रपालाई समर्थन गर्ने

काठमाडौं–कोशी प्रदेशले आज सभामुख पाउँदै छ । सत्तारुढ गठबन्धन दलले राप्रपालाई सभामुखमा अघि सार्ने निर्णय गरेसँगै एमालेले समेत राप्रपालाई नै समर्थन गर्ने भएको छ ।

एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको छ ।

उपसभामुख सिर्जना दनुवारले आज दिउँसो तीन बजेबाट सभामुख चयनका लागि निर्वाचनको प्रक्रिया अघि बढ्ने जानकारी दिएकी छिन्। कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन सहमति गरेका हुन् ।

‘निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति जुटिसकेको छ,’ उपसभामुख सिर्जना दनुवारले भनिन्, ‘आज ३ बजेबाट प्रक्रियाअघि बढ्छ ।’

कोशी प्रदेश सभाको सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले दलका प्रमुख सचेतक अम्बरबहादुर विष्टलाई अघि सार्ने निर्णय गरेको छ । सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलले राप्रपाका विष्टलाई अघि सारेपछि उनी निर्विरोध सभामुख बन्ने भएका हुन।