मोहन अधिकारी
सुनसरी– मोरङको बिराटनगर भन्सार कार्यालय पछिको सीमावर्ती क्षेत्रहरु मध्यको जेठ्ठो रंगेलीको छोटी भन्सार कार्यालय १२ वर्षदेखि कर्मचारी विहिन भएको छ । उक्त भन्सार कार्यालय सञ्चालनमा नआउँदा साना व्यपारीहरु मर्कामा परेका छन् ।
भन्सार सीमाक्षेत्र भन्दा ३ किलोमिटर टाढा रहेको छोटी भन्सार कार्यालय २०६८ सालदेखि कर्मचारी विहिन भएको हो । भन्सारको नाममा रहेको ४ कठ्ठा जग्गामा पुरानो भवनमा कर्मचारीहरुलाई बस्नका लागि असहज भएको देखिएपछि सरकारले करोडौं खर्च गरेर दुई तले सुबिधा सम्पन्न भवन निर्माण गरेको थियो ।
विगत ४ वर्षमा निर्माण कार्य सम्पन्न गरेता पनि सरकारले छोटी भन्सार कार्यालयमा कर्मचारी नपठाउँदा भवन अलपत्र रुपमा रहेको छ । सरकारले आफ्नै लगानीमा सुविधा सम्पन्न भवन निर्माण सहितका पूर्वाधार बनाएको भए पनि प्रयोगमा नआउनुले लगानी बालुवामा पानी हाले सरह भएको स्थानीयले गुनासो गरेका छन् ।
उक्त क्षेत्रमा भन्सार कर्मचारी हुँदा दैनिक १५ हजार देखि २० हजार रुपैयाँसम्म राजस्व उठ्ने गरेको स्थानीयले बताएका छन् । बिराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र राज ढकालका अनुसार रंगेली छोटी भन्सार र सिक्टि भन्सार कार्यलयमा बिगतका दिनहरुमा कर्मचारी पठाईएको तर राजस्वमा वृद्धि नभएको कारणले गर्दा कर्मचारीहरुलाई फिर्ता बोलाएको बताए ।
स्थानीय बासिन्दाहरुले रंगेली नगरपालिकाका जनप्रतिनिधिले समेत भन्सार कार्यालयमा कर्मचारी ल्याउनका लागि कुनै पहल नगरेको आरोप समेत लगाएका छन ।