images

सुदूरपश्चिम स्वास्थ्य केन्द्रको सामग्री खरिदमा मन्त्री साउदको चलखेल,माफिया विशाल पण्डितसँग सेटिङ

काठमाडौं–सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले सेटिङ मिलाएर अस्पतालको फोहोरमैला व्यवस्थापन सिस्टम खरिद गर्न लागिएको छ ।

केन्द्रले स्वास्थ्य सामाग्री खरिदमा माफियाको रुपमा परिचित विशाल पण्डितको लाइफलाइन ट्रेड इन्टरनेशनल प्रालिले मात्रै पाउनेगरी खरिद मापदण्ड बनाएर सूचना निकालेको पाइएको हो ।

सामाजिक विकास मन्त्रालय अन्तरगत रहेको केन्द्रले प्रदेशका विभिन्न अस्पतालको लागि ९ करोड २० लाखमा चारवटा मेसिन खरिदका लागि प्रस्ताव आह्वान गरेको थियो । केन्द्रले २०२३ सेप्टेम्बर २४ मा सूचना प्रकाशित गरेर प्रस्ताव आह्वान गरेको थियो । जसमा ६ वटा कम्पनीले भाग लिएका थिए । तर, एउटा मात्रै कम्पनीले पाउने गरी स्पेकलक गरेका कारण लाइफलाइनको मात्रै प्राविधिक प्रस्ताव पारित भएकाे छ । नीतिगत रुपमै भ्रष्टाचार गर्न खरिदमा स्पेकलक गर्ने गरिन्छ ।

केन्द्रले २०२४ जनवरी १० मा जनवरी १७ मा आर्थिक प्रतिवेदन खोल्ने सूचना प्रकाशित गरेको थियो । आर्थिक प्रस्ताव पनि खोलेर फेब्रुअरी १ मा एक हप्ताको आसयको सूचना प्रकाशित गरेको छ ।

लाइफलाइनले उक्त मेसिन खरिदको लागि भ्याटसहित ८ करोड २६ लाख ८४ हजार ३६० प्रस्ताव गरेको थियो । आसयको सूचनाको समयलगत्तै उक्त कम्पनीसँग सम्झौताको तयारी केन्द्रले गरेको छ ।

उक्त मेसिनको मूल्य बढीमा ४० हजार लडर पर्छ ।  तर कमिसनको सेटिङमा करिब २ करोडभन्दा बढीमा खरिद गर्ने तयारी भइरहेको छ ।

देश आर्थिक दबाबमै रहेको छ । राज्य आर्थिक दबाबमा भएकोले बागमती र लुम्बिनी प्रदेशले ९ लाखमा मेसिन खरिद गरेर अस्पतालको फोहोर व्यवस्थापन गरिरहेका छन् । तर, सुदूरपश्चिम सरकारले भने एउटै मेसिन २ करोडभन्दा बढीमा खरिद गर्ने अन्तिम तयारीमा जुटेको छ । स्रोतका अनुसार करिब पाँच करोड कमिसनको सेटिङमा मेसिन खरिद गर्न लागिएको हो ।

केन्द्रले अमुक कम्पनीसँगको मिलेमतोमा चारवटा मेसिन खरिदको प्रक्रिया सुरु गरेपछि प्रदेशको सामाजिक विकास समितिमा उजुरी परेको थियो । समितिका एक सदस्यका अनुसार समितिले मन्त्रालयका अधिकारीसहित छलफल गरेको थियो । मन्त्रालयका अधिकारीहरुले समितिले निर्णय गरेर मन्त्रालय पठाउन आग्रह गरेको थियो । सोहीअनुसार समितिले मन्त्रालय पठाउने निर्णय गर्दै सोको जानकारी दिन भनेको थियो ।

मन्त्रालय स्रोतका अनुसार सचिव गणेशबहादुर सिंहले कसैलाई जानकारी नदिएरै उक्त प्रकरणबारे अध्ययन गर्न समिति गठन गरेका थिए । समितिका एक सदस्यका अनुसार मन्त्री झपटबहादुर साउदले समिति उक्त विषयमा बोल्दै आफूलाई जानकारी नदिएर समितिले प्रतिवेदन तयार गरेको भन्दै त्यसबारे अध्ययन गर्ने जवाफ दिएका थिए । मन्त्री र सचिव सिंहको योजनामा केन्द्रका निर्देशक डा. निरज अर्यालले उक्तलाई पर्नेगरी मिलाएको मन्त्रालय स्रोतले बतायो । तर यो बिषयलाई डा. अर्यालले भने स्विकार गर्दैनन् ।

यो बिषय अहिले सुदूरपश्चिम प्रदेशसभामा प्रवेश गरेको छ । अस्पतालको फोहोरमैला व्यवस्थापन सम्बन्धी मेसिन खरिद प्रक्रियामा ठूलो कमिसनको खेल भएको भन्दै सांसदले प्रदेशसभामा छानविनको माग गरेका छन् । प्रदेशसभा सदस्य प्रकाश बमले उपकरण खरिदको नाममा ठूलो कमिसनको खेल भइरहेको भन्दै सरकारले नै छानबिन गर्नु पर्ने बताए । बमले झन्डै २ करोडमा आउने सामग्री कसिनका लागि ९ करोडमा टेन्डर दिएको भन्दै उनले त्यसमा मन्त्रीपरिषद्ले छानबिन गर्नुपर्नेमा माग पनि गरे ।

त्यसो त लाइफलाइनका बिशाल पण्डितमाथि समय समयमा प्रश्न पनि उठ्ने गरेको छ । महालेखा परीक्षकको ५६ औं बार्षिक प्रतिवेदनमा उपकरण मर्मतको ठेक्का पाएको पण्डितको हस्पिटेकले आर्थिक वर्ष २०७३–०७४ मा उक्त उपकरण मर्मत नै नगरी ४५ करोड रुपियाँ भुक्तानी लिएकाले त्यो विषयमा कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।
मन्त्रीको काइदाको तरिकाः
स्रोतका अनुसार सामाजिक मन्त्री झपट साउदले नै एकजनालाई सामाजिक समितिमा उजुरी दिन लगाएका थिए । विषय लेखा समितिमा जान नदिन सामाजिक समितिमा उजुरी गर्न लगाइएको हो । समितिका एक सदस्यका अनुसार मन्त्रीलाई बैठकमा उक्त विषय आफूले हेर्ने भन्दै निर्णय गरेर मन्त्रालय पठाउन भनेका थिए । सोही अनुसार समितिले आवश्यक छानविन गरी रोक्न र त्यसको त्यसबारे जानकारी दिन सुझावसहित निर्णय गरी पठाएको थियो ।

तर, मन्त्रालयका सचिव सिंहकै योजनामा समिति बनाएर उक्त खरिद प्रक्रियामा कुनै समस्या नभएको भन्दै अगाडि बढाउन भनियो । अर्को कुरा के पनि गरियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि लेखी पठाइयो । यो पछि पर्ने उजुरीको लागि पहिले नै जानकारी दिइएको मन्त्रालयकै एक अधिकारी बताउँछन् । यो विषयमा मन्त्रीकै सेटिङमा विशाल पण्डितसँग मन्त्री नै जोडिएको स्रोतकाे दाबी रहेकाे छ।

हेर्नुहोस् यस्तो छ सेटिङ