images

बागमती प्रदेशसभामा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन, प्रदेशसभको गतिरोध हट्यो

काठमाडौं–बागमती प्रदेशसभामा बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन भएको छ ।

बिहीबारको प्रदेशसभा बैठकले कांग्रेसका मुख्य सचेतक गोविन्द लम्सालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा प्रदेशसभा सदस्यहरु इन्द्रप्रसाद गोतामे, उद्धव थापा, गिरबहादुर तामाङ, डाक्टर दिनेशचन्द्र देवकोटा, प्रभात तामाङ, बसन्तप्रसाद मानन्धर, रत्नप्रसाद ढकाल, रमा आले मगर, मधुसुदन पौडेल र शैलेन्द्रमान बज्राचार्य छन् ।

चालू आर्थिक वर्ष २०८०÷८१ को बजेटमा विपक्षी दलका सांसदहरुले दिएका योजना समावेश गर्ने भनी १८ असारमा सरकार र विपक्षी दलबीच सहमति भएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आर्थिक मामिलामन्त्री बहादुर सिंह लामाले २२ असारमा भएको प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमाले र राप्रपासँग छुटेका योजना बजेटमा समेट्ने सम्बन्धमा गरेको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सहमतिकै आधारमा प्रदेश मन्त्रिपरिषद्बाट योजना समेट्ने निर्णयसमेत भएकोमा सहमति कार्यान्वयन नभएको भन्दै एमाले र राप्रपाले विरोध जनाउँदै आएका थिए । विशेष समितिले २९ फागुनमा बस्ने प्रदेशसभा बैठकमा प्रतिवेदन बुझाउने छ । समिति गठन भएसँगै प्रदेशसभको गतिरोध हटेको छ ।