images

कर्णाली प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं– कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ ।

यामलाल कँडेलले मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि मङ्गलवार ६ जना मन्त्रीलाई नियुक्त गर्दै प्रदेश सरकारलाई पूर्णता दिएका हुन् । चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठुला दल एमाले र माओवादी केन्द्रबीच लामो समयको रस्साकस्सीपछि मङ्गलवार माओवादी र एमालेका तीन÷तीन जना मन्त्री नियुक्त गरे ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा महेन्द्र केसी, सामाजिक विकास मन्त्रीमा वीरबहादुर शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीमा दुर्गाबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रनसिंह परियार नियुक्त भएका छन् ।

त्यस्तै एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राखेका छन् । मुख्यमन्त्री कँडेलले १२ वैशाखमा सत्ता साझेदार दल माओवादी केन्द्रका सांसद रनसिंह परियारलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

नवनियुक्त ६ जना मन्त्रीहरूले मङ्गलवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।