images

सर्वोच्चको परमादेश अनुसार गण्डकीमा कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्दै

काठमाडौं–सर्वोच्च अदालतको परमादेशको आदेशपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदै छन् ।

सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे बुधवार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

गत सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैर संवैधानिक ठहर गर्दै सबैभन्दा ठुलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

पाण्डे संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुने भएका छन् ।

गत वैशाख २३ गते सभामुख कृष्ण धितालले उपस्थित सङ्ख्या ५९ को बहुमत ३० मानेर मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए । जसमा एमालेका २२, माओवादीका ७ र एक स्वतन्त्र उम्मेदवार गरी ३० जनाले मत दिएका थिए ।

तर, सर्वोच्चले उपस्थित सङ्ख्या नभई सभाको कुल सदस्य सङ्ख्या ६० को बहुमत कम्तीमा ३१ मत हुनुपर्ने ठहर गर्दै अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलको हैसियतमा पाण्डेलाई नियुक्त गर्न आदेश दिएको थियो ।