images

जनमतद्वारा मधेस प्रदेशसभा अवरुद्ध

काठमाडौं–मधेस प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल जनमत पार्टीले प्रदेश सभा बैठक अवरुद्ध पारेको छ । करिब डेढ महिनापछि आज बसेको मधेस प्रदेशसभा बैठक प्रतिपक्षी जनमत पार्टीले अवरुद्ध गरेको हो ।

प्रदेशसभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको थियो । बैठकमा आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै जनमतले संसद् बैठक अवरुद्ध गरेको हो ।

जनमतका सांसद सञ्जय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानबिन गर्नुपर्ने हाम्रो माग पहिलादेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिँदैनौँ ।’पछिल्लो समय सत्तारूढ दलले मधेश प्रदेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भने गरिसकेका छन् ।