images

अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

काठमाडौं– अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जेठ २८ गते मात्र विश्वासको मत लिने भएका छन् ।

बुधवार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठिक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार बुधवार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ । ३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।

यता मुख्यमन्त्री यादवले विश्वासको मत लिनु अगाडि नै नयाँ सरकार गठनको आह्वान गर्न विपक्षी दलहरूले प्रदेश प्रमुखलाई आग्रह गरेका छन् । बुधवार बिहान कांग्रेस, माओवादी केन्द्र सहितका दलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न भनेका हुन् । एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका दलले मधेशमा जनमतको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य गरेका छन् ।