images

 नेप्सेमा सामान्य गिरावट, २ अर्ब ८६ करोड बराबरको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ ।

नेप्से सूचक ० दशमलव ३५ अंकले घट्दै २१८३ दशमलव २७ अंकमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक १० दशमलव ३७ अंकले बढ्दै २१८३ दशमलव ६२ अंकमा उक्लिएको थियो ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक भएका छन् ।

घट्दो बजारमा आज तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साताको अन्तिम कारोबार दिन लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड र बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो । ० दशमलव ३५ अंकले नेप्से घटेको दिन कुल २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँ बराबरको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच भएको छ ।