images

प्रधानमन्त्रीले मागे राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति चुनावका विषयमा नेताहरुको धारणा माग्नुभएको छ ।

बिहीवारदेखि पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उहाँले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा माग्नुभएको हो ।

दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा प्रतिवेदन पनि पेस गर्नुभएको भएको छ । अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ पनि गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा (एमाले) सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको उहाँले बताउनु भयो ।

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ ।

त्यस्तै यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिनुभयो ।

बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा एजेण्डा रहेको र भोलि (शुक्रवार) बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।