images

बन्द भएका सरकारी वेबसाइट खुल्यो, अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा

काठमाडौं । झण्डै तीन घण्टासम्म बन्द भएका सरकारी वेबसाइट खुलेका छन् ।

दिउँसो एक बजेदेखि केहि वेबसाइट बन्द भएकोमा साढे एक बजेदेखि सबै सरकारी वेबसाइट डाउन भएका थिए । सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएकाले सबैतिर समस्या देखिएको थियो ।

केन्द्रका निर्देशक तथा प्रवक्ता रमेश पोखरेलले बाहिरबाट ह्याकरहरुले आक्रमणको प्रयास गरेको हुन सक्ने जानकारी दिनुभयो । वेबसाइट डाउन हुँदा सरकारी सेवा प्रवाह ठप्प भएको थियो ।

अध्यागमन विभागको साइट समेत डाउन हुँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएका थिए । अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका थिए ।

सर्भर डाउन हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पनि  पुनः सञ्चालनमा आएको छ ।