images

लामिछानेलाईनै पार्टी सभापति घोषणा गर्ने रास्वपाको तयारी, गृह मन्त्रालय नछाड्ने

काठमाडौं । रवि लामिछानेले नयाँ नागरिकता लिएसँगै उनैलाई फेरि पार्टी सभापति घोषणा गर्ने तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको छ ।

लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकता लिएका थिए । नागरिकता बिनै सांसद बनेको भन्दै परेको मुद्दामा सर्वोच्च अदालतले माघ १३ मा रविको विपक्षमा फैसला गरेपछि आज उनले नागरिकता लिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएपछि अब उनलाई फेरि पार्टी सभापति बन्ने बाटो खुलेको छ ।

यता, पार्टीले पनि उनलाई फेरि सभापतिमै घोषणा गर्न केन्द्रीय समिति बैठक बोलाएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।

नागरिकता विवादमा सांसद पदसँगै पार्टी सभापति पद गुमेपछि रास्वपाले उपाध्यक्ष डोलप्रसाद अर्याललाई कार्यवाहक पार्टी सभापति र संसदीय दलको नेता चुनेको थियो ।

यसैबीच, आफ्नो पार्टीको भागमा परेको गृह मन्त्रालय नछाड्ने पनि रास्वपाका नेताहरुले जनाएका छन् ।