images

आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

आजको कार्यक्रमबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसका लागि निर्वाचन आयुक्तहरुको बैठक बस्दैछ ।

निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताउनुभयो । थपलियाका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षको पदावधि यही फागुन २९ गते सकिँदैछ । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअघि निर्वाचन गराउनुपर्ने हुन्छ ।

राष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ मा भने कार्यकाल सकिनुभन्दा एक महिनाअघि राष्ट्रपतिको चुनाव हुने गरी मिति तोक्ने भनिएको छ । उक्त कानुनमा निर्वाचन परिणाम आएपछि राष्ट्रपति निर्वाचित भएको मानिने पनि उल्लेख छ ।

ऐनअनुसार राष्ट्रपति निर्वाचित भइसकेपछि पनि पुरानो राष्ट्रपतिको कार्यभार कायमै रहने भएकाले समस्या देखिएको हो ।

राष्ट्रपति निर्वाचनका सम्बन्धमा संवैधानिक र कानुनी विवाद बढ्दै गएपछि राष्ट्रपति निर्वाचनको मिति तोक्ने विषयमा अन्योल छाएपछि सार्वजनिक रूपमा टीकाटिप्पणी भइरहेको थियो ।