images

बैंकको चर्को ब्याजदर विरुद्ध व्यवसायी आन्दोलित

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदर र आतंकबिरुद्ध प्रदर्शन गरेको छ ।

सोमवार काठमाडौंको माईतीघर मण्डलामा महासंघले बैंकको चर्को ब्याजदर र आतंक गरेको भन्दै सरकारबिरुद्ध प्रदर्शन गरिएको हो ।

व्यवसायीप्रति सरकारले विभेदकारी नीति लिएको तथा बैंक तथा वित्तीय संस्थाहरुले आतंक फैल्याउँदा व्यवसायीहरु पीडित भएको भन्दै सडकमा प्रदर्शन गर्न बाध्य भएको व्यवसायीहरुले बताए ।

महासंघका अध्यक्ष कुमार कार्कीले बैंकहरुले व्यवसायीहरुलाई ३५ दिने सूचना दिएर घर लिलामी गर्न थालेकाले लिलामी रोक्न माग गर्दै सडक आन्दोलन गरिएको बताउनु भयो । उहाँले दुई वर्ष अगाडि ८ प्रतिशतमा रहेको बैंकको ब्याजदर १५ प्रतिशतसम्म पु¥याएकाले व्यवसायीहरु मर्कामा परेको स्पष्ट पार्नुभयो ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष नरेश कटुवालले सरकारलाई लामो समयदेखि आफ्ना माग सम्बोधन नभए सडक आन्दोलन गर्ने जानकारी गराउँदा समेत व्यवसायीहरुका माग पूरा नगरेकाले बाध्य भएर सडकमा आएको बताउनु भयो ।

त्यस्तै, महासंघकी उपाध्यक्ष लक्ष्मी खड्काले बैंक र व्यवसायीहरुबीच साथीको सम्बन्ध हुनुपर्ने भएपनि गुण्डागर्दीको सम्बन्ध बनाउन खोजेको आरोप लगाउनु भयो । यता, राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले बैंकको उच्च ब्याजदरको कारण व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको बताउनु भयो ।