images

आर्थिक संकट समाधान गर्न नेकपा एसको आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले जिम्मेवार प्रतिपक्षको हिसाबले देशको आर्थिक अवस्था र समाधानका लागि पहल गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री प्रचण्डलाई बुझाएको ज्ञापन पत्रमा देशको आर्थिक अवस्था गम्भीर संकटतर्फ उन्मुख भएको भन्दै मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको भन्दै तत्काल आर्थिक रणनीति अपनाउन उल्लेख गरिएको छ ।

माधवकुमार नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा देशको आर्थिक समस्या समाधान गर्न अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव समेटिएको छ । ज्ञापनपत्र बुझाएपछि सो पार्टीका उपमहासचिव प्रकाश ज्वालाले २० बुँदे सुझावमार्फत आर्थिक नीति कार्यान्वयन, युवा शक्ति विदेश पलायन रोक्नुपर्नेलगायतलाई समेटिएको जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले समाधान गर्न सकिने विषय उठाएको भन्दै त्यसका लागि छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको ज्वालाले जानकारी दिनुभयो ।