काठमाडौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले हरेक वर्ष माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ।
१९औं वाषिर्कोत्सवको अवसरमा टेलिकमले फाइभजी सेवाको आन्तरिक परीक्षणको औपचारिक शुभारम्भ गरेको छ । बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट फाइभजीको परीक्षण सुरू गर्न थालिएको छ ।
सेवाको उपयोग तत्काललाई टेलिकमका कर्मचारीले मात्रै गर्न पाउने भएका छन् । सर्वसाधारणसँग फाइभजी चल्ने डिभाइसको संख्या नै न्यून भएको र फाइभजी प्रणाली प्रयोगको सम्भावना पनि न्यून रहेकाले कर्मचारीहरुबाटै परीक्षणकालको सुरुवात भएको टेलिकमले जनाएको छ ।
२ हजार ६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत टेलिकमले फाइभजी सेवाको सुरू गर्न थालेको हो ।
परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सर्वसाधारणका लागि सेवा उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।