images

उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन बुटवलमा सुरू

काठमाडौं । देशभरका उपमहानगरपालिकाको राष्ट्रिय सम्मेलन रुपन्देहीको बुटवलमा सुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा देशभरका उपमहानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरू बुटवलमा भेला भएका छन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताएका छन् । प्रदेश प्रमुख शेरचनले संघीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताए ।

संघीयता कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकारका बीचमा समन्वय र सहकार्य जरुरी रहेको भन्दै उनले आवश्यक कानुन निर्माणमा चासो दिनुपर्ने बताए ।

आइतबार बिहान औपचारिक समारोह सकेपछि अहिले उपमहानगरपालिकाहरूका बीचमा आन्तरिक छलफल चलिरहेको छ ।

विज्ञसहितको छलफलपछि साझा विषयहरूलाई समेटेर घोषणापत्र जारी गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।