images

टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । टर्कीमा सोमबार ७.८ म्याग्निच्यूडको भूकम्प गएको छ । भुकम्पबाट टर्कीमा ठूलो जनधनको क्षति पुगेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

एएफपीका अनुसार भुकम्पबाट अहिलेसम्म टर्की र सिरियामा गरी १०० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा टर्कीको गाजियन्टेप सहर नजिक भूकम्पको धक्का महशुस गरिएको हो ।

सिरिया र लेवनानमा समेत ठूलो धक्का महशुस गरिएको भुकम्प जमिनबाट १७.९ किलोमिटर भित्र जमिनमा रहेको टर्कीका सन्चारमाध्यमले जनाएका छन् । भूकम्पले टर्की र सिरियाका धेरै भवनहरु ध्वस्त भएका छन् ।

टर्कीका राष्ट्रपति रजब तैयब इरदुगानले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको बताएका छन् । भूकम्पको समयमा कम्तिमा ६ वटा पराकम्पन महशुस गरिएको थियो ।

सिरियाको अलेप्पो र हामा सहरबाट क्षति भएको खबर आएको छ । सिभिल डिफेन्सका अनुसार सिरियामा टर्कीसँग सीमा जोडिएको क्षेत्रमा धेरै भवनहरू भत्किएका छन् । त्यसैगरी सिरियाको दमस्कसमा पनि भूकम्पपछि मानिसहरु सडकमा निस्किएका छन् । लेबनानमा करिब ४० सेकेण्डसम्म भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।

टर्कीको भौगोलिक अवस्थितिका कारण यहाँ प्रायः भूकम्प जाने गरेको छ । सन् १९९९ देखि हालसम्म भूकम्पका कारण टर्कीमा १८ हजार मानसिको मृत्यु भइसकेको छ ।