images

आज महाशिवरात्री, देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । आज महाशिवरात्री पर्व, देशभर आराध्यदेव महादेवको पूजा आराधना गरि मनाइँदैछ ।

आज महादेवको पूजा आराधनाका लागि काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । आज नदीमा स्नान गरी शुद्ध भइ बिहानैबाट शिवालयमा पुगेर श्रद्धापूर्वक महादेवको पूजा आराधना गर्नाले मनोकामना पुरा हुने धार्मिक बिश्वास रहि आएको छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

पशुपतिनाथ मन्दिरमा यतिबेला भक्तजनको भीड रहेको छ । आज बिहानैबाट भक्तजनहरु पशुपतिनाथको पूजा गर्नका लागि लामवद्ध भएर बसेका छन् ।

महाशिवरात्रिका अवसरमाआज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुलेका छन् । बिहान ३ बजेअघिदेखि नै भक्तजन पूजाआराधना एवं दर्शनका लागि जम्मा भएका थिए ।

आज काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, भक्तपुरको डोलेश्वर, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनको भीड रहेको छ ।