images

प्रतिलिटर ९ रुपैयाँ बढ्यो दूधको मूल्य

काठमाडौं । सरकारले दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य वृद्धि गरेको हो ।

दूधको मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेको छ । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो ।

यसअघि किसानले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसा पाउने गरेका थिए । किसानहरूले गाईवस्तुलाई खुवाउने पराल, दानालगायतको भाउ बढ्दा उत्पादन लागत बढेको भन्दै भाउ बढाउन माग गर्दै आएका थिए ।

बढेको मूल्य किसानले पाउने गरी सरकारले कच्चा दूधको भाउ बढाएको हो । किसानले पाउने दूधको भाउ लिटरमा नौ रुपैयाँभन्दा बढी बढेपछि अब उपभोक्ता मूल्य कम्तीमा १० रुपैयाँ बढ्ने छ ।

सरकारी स्वामित्वको डीडीसीले अहिले फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब यो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ ।