images

‘ए’ डिभिजन लिग : हिमालयन शेर्पाद्वारा पुलिस १-० गोल अन्तरले पराजित

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगको आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराउँदै हिमालयनले पहिलो जित निकालेको हो ।

हिमालयनको जितमा डिफेन्डर अमृत श्रेष्ठले निर्णायक गोल गरे ।अमृतले खेलको इन्जुरी समयमा गोल गरेका थिए । जुन गोल हिमालयनको जितमा निर्णायक बन्यो ।

त्यसअघि ३२ औं मिनेटमा हिमालयनका फरवार्ड निशान सुब्बा पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोकेका थिए ।

पुलिसका डिफेन्डर अजित भण्डारीले हिमालयनका अबायोमी ओलुवासेनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँगै हिमालयनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा हिमालयनले मनाङ मर्स्याङ्दी क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो ।

पुलिसको यो लगातार दोस्रो हार हो । पुलिसले २ खेलमा अंक जोड्न सकेको छैन ।

यस्तै, आजै दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लव र संकटा क्लबबीच प्रतिष्पर्धा हुनेछ। मनाङ र संकटाबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ।