images
images

दुई हप्तामै ६० % बढ्यो प्याजको होलसेल मूल्य, भारतीयलाई सस्तो बनाउन खोज्दा नेपाली उपभोक्ता चरम मारमा

काठमाडौं । नेपाली बजारमा प्याजको होलसेल मूल्य दुई हप्तामै ६० प्रतिशतले वृद्धि भएको छ ।

असोज मसान्तमा होलसेल बजारमा ७६ रुपैयाँ रहेको सुकेको प्याजको मूल्य कात्तिक १३ गते सोमबारका दिन १ सय २० रुपैयाँसम्म पुगेको छ। पछिल्लो दुई हप्तामा मात्रै प्याजको मूल्य किलोमा ४४ रुपैयाँ अर्थात् ६० प्रतिशतले वृद्धि भएको छ । होलसेलमै ६० प्रतिशतसम्म मूल्य बढेपछि उपभोक्ताले खरिद गर्ने खुद्रा मूल्य त झन दोब्बरसम्म पुगेको छ ।

नेपालमा खपत हुने अधिकांश प्याज भारतबाट आयात हुन्छ । भारतमा नै प्याजको मूल्य बढ्नुका साथै भारत सरकारले प्रतिकिलो १ सय ५ रुपैयाँभन्दा कममा निर्यात गर्न नपाइने व्यवस्था लागू गरेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको व्यवसायीहरुले बताएका छन् ।

भारतले शनिबार मात्रै प्याजको निर्यातमा न्यूनतम मूल्य तय गरे पनि नेपालमा भने दुई हप्ता अघिदेखि नै प्याजको मूल्य आकाशिन थालेको थियो ।

भारतको निर्याणअघि प्रतिकिलो १ सय २ रुपैयाँ रहेको प्याजको मूल्य दुई दिनमा नै १८ रुपैयाँसम्म बढाइएको छ । तर, त्यो व्यवस्थापछि भारतबाट आयात भएको प्याज नेपाली बजारमा नपुगे पनि, पहिल्यै आयात भएको वस्तुमा अस्वाभाविक मूल्य वृद्धि गरेर कालोबजारी गर्दै उपभोक्ता माथि अपराध गरिएको अधिकारकर्मीहरुले बताएका छन् ।

तर, कृत्रिम भन्डारण गरेर मूल्य बढाएको भन्ने आरोप व्यवसायीहरुले भने अस्वीकार गरिरहेका छन् । उनीहरूले भारतमा मूल्य वृद्धि हुँदा भारतमै खरिद प्याजको प्रतिकिलो खरिद मूल्य १०७ रुपैयाँ परेको र नेपाल ल्याई पुर्‍याउँदा १२० रुपैयाँ पुगेको दाबी गरिरहेका छन् ।

नेपालमा करिब १५० जना व्यवसायीहरुले मात्रै प्याज आयात गर्ने गरेका छन् । चालु आर्थिक वर्षको ३ महिना साउन, भदौ र असोजसम्ममा भारतबाट १ अर्ब ३३ करोड रुपैयाँ बराबरको ३२ हजार मेट्रिक टन प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले वार्षिक ५ अर्ब रुपैयाँ बढीको प्याज भारतबाट आयात गर्ने गरेको छ ।

भारतको आन्तरिक बजारमा प्याजको मूल्यमा भएको वृद्धि र यसले भारतीय उपभोक्तामा पर्ने महँगी नियान्त्रण गर्न भारत सरकारले प्याजको निर्यातलाई आगामी पुससम्म महँगो बनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पछिल्लो २ सातायाता भारतीय बजारमा प्याजको मूल्य १६ प्रतिशतसम्मले बढेर प्रतिकिलो भारु ८० रुपैयाँ ( नेपाली १२८ रुपैयाँ) सम्म पुगेको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।

यसरी भारतको आन्तरिक बजार सँगै निर्यातमा पनि उच्च मूल्यवृद्धि भएपछि असोज अन्तिमसम्म नेपाली खुद्रा बजारमा प्रतिकिलो ७० देखि ८० रुपैयाँमा पाइने भारतीय सुकेको प्याजको मूल्य अहिले १३० देखि १५० रुपैयाँसम्म पुगेको हो ।

प्याजको मूल्य बढेसँगै असोजसम्म दैनिक करिब एक लाख ७० हजार किलो हाराहारी प्याज आयात हुने गरेकोमा कात्तिक लागेपछि प्याजको आयात आधाभन्दा धेरैले घटेर दैनिक ६० हजार किलोमा झरेको कालिमाटी तरकारी बजारको तथ्यांक छ ।

नेपालमा कुल खपत हुने प्याजको एक तिहाइ हिस्सा मात्रै उत्पादन हुने गरेको छ । अन्य खेती जस्तै प्याज खेती गर्ने किसान र खेती हुने जमिनको क्षेत्रफल पनि वर्षेनी घट्दोक्रममा रहेको सरकारी तथ्यांक छ । एजेन्सीको सहयोगमा

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS