images

काठमाडौं महानगरपालिका तीन कर्मचारी निलम्बीत

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ । महानगरले मेयर बालेन्द्र साहका सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको हो ।

उनीहरुमाथि कार्यपालिकाले गरेको निर्णय हेरफेर गरेको आरोप लगाइएको छ । पुसमा बसेको नगर कार्यपालिका बैठकले वडा नम्बर १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाँच जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर त्यसमा वरिष्ठ शाखा अधिकृत बिडारीले नियतवश आफ्नो छोरी सुप्रिया ढुंगेलको नाम उल्लेख गरी छ जना बनाएको आरोप छ । उक्त प्रबर्द्धन केन्द्र ‘द मान्डुस् फ्रान्स’ को आर्थिक सहयोगमा चलिरहेको थियो ।

सम्झौता अवधि सकिएपछि महानगरले सञ्चालन गर्ने भनेर कार्यपालिकाले निर्णय गरेको थियो । समिति गठन गरेर उनीहरुमाथि छानबिन भइरहेको महानगरले जनाएको छ । प्रमुख प्रशाशकीय अधिकृत पनि घटनामा संलग्न भएको पाइएपछि मेयर साहले उनलाई छानबिन कार्य नसकुन्जेल बिदामा बस्न भनेका छन् ।

सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा गठित छानबिन समितिमा कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र प्रशासन विभागका उपनिर्देशक प्रवीण प्याकुरेल सदस्य छन् ।