images

मिथिला नगरपालिकामा नगरस्तरीय स्वास्थ्य सेवा तथा बर्थिङ सेन्टर सञ्चालन

काठमाडौं–धनुषाको मिथिला नगरपालिकाले ढल्केवरमा नगर स्तरिय इर्मजेन्सी (आकस्मिक) स्वास्थ्य सेवा तथा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले गौरवको योजना अन्तर्गत स्वास्थ्य चौकीको अतिरिक्त भवनमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले भने,‘स्वास्थ्य नागरिकको आवश्यकता र अधिकारको विषय हो । त्यसैले यसमा हामी जनप्रतिनीधि डटेर लाग्नेछौँ , आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा लागेको सम्पूर्ण खर्च नगरपालिकाको आफ्नै बजेटबाट गरिएको छ ।’

योसगैँ स्वास्थ्य चौकिमा अब चौबिसै घण्टा आकस्मिक उपचार तथा बर्थिङ सेवा उपलब्ध हुने उनले बताए । सेवा सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण, ल्याब मेसिन तथा जनशक्ति व्यवस्थापन भइसकेको र एक्स–रे मेसिन लगायतका थप उपकरणको व्यवस्थापन गर्दै जाने उनको भनाइ छ ।

आकस्मिक स्वास्थ्य सेवातर्फ पालिकाबाट दुई जना एमबीबीएस, चारजना एच.ए, चारजना एन.ए.मी, दुईजना स्टाफ नर्स, दुईजना स्वीपर र दुईजना फार्मेसीका लागि जनशक्ति राखिएको छ । त्यहाँ उपलब्ध हुने आकस्मिक स्वास्थ्य सेवामा ५० रुपैया टिकट बाहेक कुनै शुल्क नलाग्ने नगरपालिकाले जनाएको छ । अस्पताल हाताभित्र नगरपालिकाको आफ्नै फार्मेसी समेत संचालनमा ल्याउने तयारी थालेको नगरप्रमुख महतोले जनाए ।