images

रामेछापमा टिपर दुर्घटना हुँदा चालकको ज्यान गयो

रामेछाप– रामेछापको मन्थली नगरपालिका वडा नं ७ स्थित मन्थली घाट नजिक टिपर दुर्घटना हुँदा चालककाे ज्यान गएकाे छ । सोमबार बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा टिपर चालक रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ वर्षीय पवित्र बस्नेतको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी घाइते भएका सहचालक दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नं ६ का अन्दाजी २१ वर्षका मनोज फुयाँलको उपचार भइरहेको छ ।

घाइतेको मन्थली नगर अस्पतालमा उपचार भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । भटौलीबाट मन्थली तर्फ बालुवा लिएर जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडक बाट करिब ५० मिटर तल तामाकोसी नदी किनारमा खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको रामेछाप प्रहरीले जानकारी दिएको छ ।