images

उपचारबाट वञ्चित एक हजार बढीलाई निःशुल्क स्वास्थ्य सेवा

भोजपुर–गरिबिका कारण उपचारबाट वञ्चित भोजपुरको उत्तरी क्षेत्रमा रहेका दुई स्थानीय तहका एक हजार बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।

विभिन्न रोगबाट ग्रसित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका एक हजार ७३ जनाले विभिन्न रोगको विशेषज्ञ डाक्टरको निःशुल्क सेवा पाएका हुन् । शिविरका क्रममा भेटिएका जटिल समस्या भएका एक सय ३४ जनालाई बाहिरका अस्पतालमा थप उपचार तथा शल्यक्रियाको लागि रेफर गरिएको छ ।

स्वास्थ्य उपचारबाट वञ्चित रहेको अवस्थामा सबै खालको रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको षडानन्द नगरपालिकाका-६ का ६४ वर्षीय स्थानीय निल बहादुर खड्गीले बताए । दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरूले उपचार गर्न पाएको शिविरमा सेवा लिन आएकी स्थानीय बासी पवित्रा दर्जीले बताइन् ।

यहाँका नागरिकलाई नोबेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरबाट निःशुल्क स्वास्थ्य उपचार दिइएको छ । स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदानसँगै जटिल खालका रोगको निःशुल्क उपचार गर्ने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको कोसी सांसद विनोद बान्तावाले बताए ।

ग्रामीण भेगमा शिविर सञ्चालनले नागरिकको वास्तविक अवस्थाको विषयमा जानकारी भएकाले भावी दिनका योजना निर्माणमा सहजता हुने सांसद बान्तावाको भनाइ छ ।

बिहीबार षडानन्द नगरपालिकामा रहेको गान्धी मोमोरियल अस्पतालमा शिविर सञ्चालन गरिएको हो । शिविरले नागरिकलाई नागरिकलाई सहजता भएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए ।

शिविरबाट जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बाल रोग, हाड जोर्नी, दन्त, नाक, कान घाँटी, न्युरो सर्जरी, फोक्सो, छाला तथा यौन रोग, कलेजो तथा नसा रोग, ल्याब परीक्षण, भिडियो एक्स-रे, बाल रोगलगायत रोगको निःशुल्क उपचार गरिएको हो ।